१९ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सरकारी शैलीको कडा आलोचना गरेका छन् । सुकुम्बासी बस्तीमा ‘हुकुमबासी’ मात्र रहेको भन्ने सरकारी प्रचार गलत भएको जिकिर गर्दै उनले वास्तविक सुकुम्बासीको पहिचान र उपयुक्त पुनर्स्थापनाको विकल्प तयार नपारी डोजर चलाउनु अमानवीय र अव्यावहारिक भएको बताएका छन् ।
नेपाली कांग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिले नवनिर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले वर्तमान सरकारको ‘बहुमतको दम्भ’ प्रति सचेत रहन आग्रह गरे। “झन्डै दुई तिहाइको सरकारले संख्याको बलमा गलत निर्णयहरू जबरजस्ती लाद्न सक्छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दलको भूमिका अझ जिम्मेवार हुनुपर्छ,” उनले भने । उनले सांसद रानालाई संसद्मा सक्रिय, अनुकरणीय र जनताले महसुस गर्ने गरी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
संवैधानिक परिषद्को पुनर्संरचनालाई लिएर पनि महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए। परिषद्लाई सर्वपक्षीय र सन्तुलनमा राख्नु राज्यको आधारभूत मर्म भएको औँल्याउँदै उनले यसलाई एकपक्षीय बनाउन खोज्नु लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको टिप्पणी गरे । “राज्यका आधारभूत मर्मलाई खलबल्याउने अधिकार कसैलाई छैन,” उनले चेतावनीको भाषामा भने ।
कार्यक्रममा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले दुई तिहाइको सरकारलाई खबरदारी गर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए। उनले अदालत र निर्वाचन आयोगबाट समेत आधिकारिकता पाइसकेको अवस्थामा पार्टीभित्र अब कुनै पनि गुटगत विवादको औचित्य नरहेको बताए । “संवैधानिक निकायहरूले विवाद निरुपण गरिसकेका छन्, त्यसैले अबको एकमात्र ध्येय बलियो प्रतिपक्षका रूपमा सरकारलाई खबरदारी गर्नु हो,” सभापति श्रेष्ठले भने ।
यसैबीच, सम्मानित सांसद सन्दीप रानाले आफूलाई निर्वाचित गराउन योगदान पुर्याउने अग्रज नेता र कार्यकर्ताप्रति आभार प्रकट गरे । उनले जनताको विश्वासमाथि कुठाराघात हुन नदिने र संसद्मा पाल्पाली जनताको आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरे। महामन्त्री पौडेलको यो मन्तव्यले सरकारको पछिल्लो कदमविरुद्ध कांग्रेसले आक्रामक रणनीति लिने संकेत गरेको छ ।

















