१९ वैशाख,काठमाडौं । नदी किनार आसपासका अतिक्रमित संरचना हटाउने सरकारी अभियान तीव्र बनेको छ। शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रमा डोजर चलाइएको छ।
यस क्रममा बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा समेत डोजर चलाइएको छ। नदी किनार अतिक्रमण हटाउने अभियान अन्तर्गत उक्त विद्यालय संरचना पनि हटाइएको जनाइएको छ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमूल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काइएको थियो। प्रभावित स्थानीयले विकल्प बिना संरचना हटाउँदा समस्या परेको गुनासो गरेका छन्।
सरकारले शुक्रबारदेखि दोस्रो चरणको अभियान सुरु गरेको हो। यसअघि पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपासका अतिक्रमित संरचना हटाइएको थियो।
सरकारले नदी किनारको सार्वजनिक जग्गा खाली गराउने उद्देश्यले अभियानलाई निरन्तरता दिने जनाएको छ भने स्थानीयस्तरमा पुनर्वासको विषयमा बहस सुरु भएको छ।