१९ वैशाख,काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपति प्रा.डा. धनेश्वर नेपाल ले पदबाट राजीनामा दिएका छन्। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने व्यवस्था सहित अध्यादेश अघि बढाएपछि उपकुलपतिहरूको राजीनामा दिने क्रम तीव्र बनेको छ।
उपकुलपति नेपालले शुक्रबार राजीनामा दिएको पुष्टि गर्दै २२ वैशाखदेखि लागू हुनेगरी पद त्याग गरेको जानकारी दिएका छन्। “बीचमा दुई दिन बिदा परेकाले २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुनेछ,” उनले बताएका छन्।
प्रा.डा. नेपाललाई २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले उपकुलपतिमा नियुक्त गरेका थिए।
यसअघि त्रिभुवन विश्वविद्यालय का पदाधिकारीहरूले पनि सामूहिक राजीनामा दिएका थिए। १७ वैशाखमा उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल ले पद त्याग गरेका थिए।
राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह हुँदै आएको भए पनि सरकारले पदाधिकारी हटाउन अध्यादेश ल्याउने तयारी गरेपछि धमाधम राजीनामा आउने क्रम सुरु भएको हो। अध्यादेश सम्बन्धी सिफारिसमाथि राष्ट्रपति रामचन्द्र पौडेल ले अध्ययन गरिरहेका छन्।
यस घटनाक्रमसँगै विश्वविद्यालय प्रशासनमा व्यापक फेरबदल हुने संकेत देखिएको छ।

















