Logo

२५ वैशाख, वीरगञ्ज । बाराको परवानिपुरस्थित ज्योति ग्रुपअन्तर्गतको ज्योति फार्मभित्र रहेको आवास गृह (क्वाटर) मा गएराति भीषण आगलागी भएको छ। आगलागीबाट घरको अधिकांश संरचना र भित्र रहेका धनमाल जलेर नष्ट भएको छ ।

घटना भएको समयमा घरका सबै सदस्यहरू आवास गृहबाट करिब ३०० मिटरको दूरीमा आयोजना गरिएको एक सामूहिक भोज (बहुभोज) मा सहभागी हुन गएका थिए । घरमा कोही नभएको मौकामा अचानक सल्किएको आगोले हेर्दाहेर्दै उग्र रूप लिएको थियो। छिमेकी र स्थानीयले आगो दन्किएको देखेपछि मात्रै घटनाबारे जानकारी पाएका थिए ।

स्थानीय प्रशासन र दमकललाई तत्काल खबर गरिए पनि आगो नियन्त्रणमा आउनुअगावै घरको करिब ९० प्रतिशत भाग जलिसकेको थियो। वीरगञ्ज महानगरपालिका र आसपासबाट आएका दुईवटा दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले लामो प्रयासपछि आगो निभाएका थिए । मानवीय क्षति नभए पनि घरभित्र रहेका जिन्सी सामान, कागजात र बहुमूल्य वस्तुहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

आगो कसरी सल्कियो भन्नेबारे अहिलेसम्म ठोस कारण खुल्न सकेको छैन। विद्युत् सर्ट भएर वा अन्य कुनै कारणले आगलागी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै