Logo

२७ वैशाख, काठमाडौँ । बचतकर्ताको करोडौँ रकम ठगी गरेको अभियोगमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा परेको उजुरी र प्रहरीको निरन्तर निगरानीपछि शुक्रबार बौद्धबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उक्त सहकारीले विगत चार वर्षदेखि बचतकर्ताको निक्षेप फिर्ता नगरेको पाइएको छ । आफ्नो पसिनाको कमाइ फिर्ता पाउन पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि पीडितहरूले सहकारी मन्त्रालय र प्रहरी प्रशासनमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोक्काले घिमिरेमाथि सहकारी ठगी अभियोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । “सहकारीले करिब १५० जना बचतकर्ताको झन्डै १५ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको प्रारम्भिक तथ्याङ्क देखिएको छ,” डीएसपी रोक्काले भने, “हामीले उनलाई हिरासतमा लिएर सोधपुछ र थप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ।”

सहकारी संकटका कारण बचतकर्ताहरूले आफ्नो निक्षेप सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला मञ्जुश्रीका अध्यक्ष पक्राउ परेपछि पीडितहरूले न्याय पाउने आशा व्यक्त गरेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सहकारी ठगीका घटना बढेपछि प्रहरीले यस्ता उजुरीमाथि सक्रियता देखाउन थालेको छ ।

प्रहरीले अन्य सञ्चालकहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको र पीडितहरूको बचत रकम असुल उपर गर्ने कानुनी बाटो खोजिने जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै