२९ वैशाख,वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट असन्तुष्ट बनेका वीरगञ्जका एक किशोरले सोमबार राति आत्महत्या गरेका छन्।
पर्साको पकाँहामानपुर गाउँपालिका-२ घर भई हाल वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका १५ वर्षीय शन्नी पटेलले नतिजा सार्वजनिक भएकै रात आत्महत्या गरेका हुन्। उनी वीरगञ्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए।
पारिवारिक स्रोतका अनुसार सोमबार सार्वजनिक भएको एसईईको नतिजापछि शन्नी निकै निरास र चिन्तित देखिएका थिए। राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाइ गरिरहेकै बेला उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए।
“हामीले धेरै सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,” परिवारका एक सदस्यले बताए। फलामको ढोका भएका कारण तत्काल खोल्न नसकिएको र ढोका फुटाएर भित्र हेर्दा उनले ओछ्यानको तन्नाको पासो लगाइसकेको अवस्थामा भेटिएको परिवारले जनाएको छ।
घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
एसईई नतिजापछि हरेक वर्ष यस्ता दुःखद घटनाहरू दोहोरिने गरेका छन्। शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले परीक्षाको नतिजालाई नै जीवनको अन्तिम फैसला मान्ने प्रवृत्ति गलत भएको बताउँदै आएका छन्। “परीक्षा एउटा प्रक्रिया मात्र हो, यो जीवनको अन्त्य होइन,” मनोविदहरू भन्छन्, “अभिभावकले आफ्ना बालबालिकालाई नतिजाको आधारमा दबाब दिनुको सट्टा उनीहरूको भावना बुझेर साथ दिनु जरुरी छ।”यस्ता घटनाले हाम्रो मूल्याङ्कन प्रणाली र विद्यार्थीहरूमाथि पर्ने मानसिक दबाबबारे पुनः गम्भीर बहसको आवश्यकता औंल्याएको छ।

















