Logo

२९ बैशाख, काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न ५ मुख्य राजमार्गहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ, जसमध्ये दुईवटा सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, प्राकृतिक प्रकोपका कारण बीपी राजमार्ग र हिल्सा–सिमकोट सडक खण्डमा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो । विशेषगरी बीपी राजमार्गको काभ्रेस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा जोखिम बढेपछि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने हुम्लाको नाम्खा गाउँपालिका-२ स्थित सडक पनि बन्द अवस्थामा रहेको छ ।

त्यसैगरी, अन्य तीनवटा प्रमुख सडक खण्डहरूमा भने कठिनका साथ एकतर्फी यातायात सञ्चालन भइरहेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएकोमा हाल एकतर्फी खुलाइएको छ । कोशी राजमार्गको संखुवासभास्थित मकालु गाउँपालिका–३ र बेनी–जोमसोम सडक खण्डको म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पनि पहिरोका कारण सडक साँघुरो भएपछि सवारीसाधनहरू पालो कुरेर एकतर्फी रूपमा चलिरहेका छन् ।

लगातारको वर्षा र प्राकृतिक अवरोधका कारण यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ भने प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकको अवस्थामा सडकको स्थिति बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै