२९ वैशाख,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, पर्साले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार नियमिततर्फ सहभागी कुल ८ हजार ४ सय १२ परीक्षार्थीमध्ये ३ हजार ४ सय ५ जना उत्तीर्ण भएका छन्। जिल्लाको कुल उत्तीर्ण प्रतिशत ४०.४७ रहेको छ।
नतिजाअनुसार सबैभन्दा उत्कृष्ट ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ४ सय ५९ रहेको छ। त्यसैगरी ९ सय १२ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका छन् भने ३ सय २४ जनाले ‘बी प्लस’ ग्रेड हासिल गरेका छन्।
यस्तै, ९ सय ५५ जना विद्यार्थी ‘बी’ ग्रेडमा उत्तीर्ण भएका छन्। मध्यम स्तरको उपलब्धि हासिल गर्नेमा ७ सय १७ जनाले ‘सी प्लस’ तथा ३८ जनाले ‘सी’ ग्रेड प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ, पर्साले जनाएको छ।
समन्वय इकाइका अनुसार यस वर्षको नतिजाले जिल्लाको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको संकेत गरेको छ। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगका कारण नतिजामा सकारात्मक सुधार आएको जनाइएको छ।
कार्यालयले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूका लागि ग्रेडवृद्धि तथा अन्य आवश्यक प्रक्रियाबारे पनि समन्वय भइरहेको जनाएको छ।

















