Logo

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाट कुरुलेफाँटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २७ जना घाइते भएका छन्।

सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्डअन्तर्गत कुरुलेफाँट नजिक सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही स्थानकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वत मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी तथा बस चालक ४५ वर्षीय रमेश जिसी रहेका छन्।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा तथा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा उपचाररत केही घाइतेलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका अधिकांश यात्रु पर्वतको मोदी गाउँपालिकाका रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार