३० बैशाख, काठमाडौं । बहुचर्चित स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार पाण्डेलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो । सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्ति गैरकानुनी ढङ्गले अर्कै निजी कम्पनीलाई बिक्री गर्ने कार्यमा पाण्डेको प्रत्यक्ष संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ ।
यो प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले यसअघि नै पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ। बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पाण्डेको पक्राउलाई वित्तीय र सञ्चार क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।
सीआईबीले स्मार्ट सेलको सम्पत्ति हस्तान्तरणका क्रममा भएका अनियमितता र सरकारी नोक्सानीबारे पाण्डेसँग थप बयान र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

















