३० बैशाख, काठमाडौं । अमेरिका लैजाने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय वडाध्यक्ष शिवबहादुर थापालाई कास्कीको पोखराबाट नियन्त्रणमा लिएको हो । थापाले ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाउँदै २०७८ वैशाखमा काठमाडौँबाट दुबई पुर्याएर ठगी र शोषणको सिलसिला सुरु गरेको अनुसन्धानबाट खुलेको छ ।
पीडित युवतीलाई दुबई, बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्याएर एक वर्षसम्म बन्धक बनाइएको ब्यूरोले जनाएको छ । सोही क्रममा पीडितमाथि शारीरिक तथा मानसिक यातना दिनुका साथै जबरजस्ती करणी समेत भएको र ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत पटक–पटक गरी ९८ हजार ९०० अमेरिकी डलर बुझाउन बाध्य भएको समाचारमा उल्लेख छ । रकम असुल गरेपछि थापाका एजेन्टहरूले पीडितलाई मेक्सिकोको बोर्डरमा अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए ।
मेक्सिकोमा अलपत्र परेकी युवती अमेरिकास्थित नेपाली राजदूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर २०८३ वैशाख २ गते नेपाल फर्कन सफल भएकी थिइन् । नेपाल आएर दिएको उजुरीका आधारमा ब्यूरोको टोलीले थापालाई २०८३ वैशाख २८ गते पक्राउ गरेको हो ।
हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभएको छ ।

















