Logo

३० बैशाख, काठमाडौँ । सर्वोच्च अदालतको इजलासभित्रै हुलहुज्जत र अस्वाभाविक व्यवहार प्रदर्शन गरेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई नियन्त्रणमा लिएर हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँका प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ । हाल प्रदर्शनमा रहेको चलचित्र ‘लालीबजार’ विरुद्ध रोशनीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही मुद्दाको सुनवाइका लागि आज इजलासमा उपस्थित भएकी उनले बहस चल्दै गर्दा हुलहुज्जत गरेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको हो ।

उक्त चलचित्रले वादी समुदायका महिलाहरूको मानमर्दन र बदनाम गरेको भन्दै रोशनीले यसको प्रदर्शनमा तत्काल रोक लगाउनुपर्ने माग गर्दै आएकी छन् । रोशनी वादी पछिल्लो समय वादी समुदायको हकहित र चलचित्र ‘लालीबजार’ को विरोधमा निरन्तर आन्दोलित छिन् । यसअघि पनि उनले आफ्नो मागप्रति ध्यान आकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गुडिरहेको गाडी अगाडि सुतेर विरोध प्रदर्शन गरेकी थिइन् ।

आज इजलासमा भएको घटनापछि प्रहरीले उनलाई थप अनुसन्धान र शान्ति सुव्यवस्थाका लागि होल्डमा राखेको जनाएको छ ।


सम्बन्धित समाचार