३० बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेश स्तरीय भेलाले पार्टीभित्रको आन्तरिक एकता गम्भीर संकटमा परेको निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौँमा सम्पन्न भेलाले ९ बुँदे घोषणापत्र जारी गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ । भेलाले पार्टीका विभिन्न विचार समूहहरूसँग परामर्श नगरी केन्द्रीय समितिमा गरिएको मनोनयनले बृहत् एकताको वातावरण बिगारेको ठहर गरेको छ ।
१५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष र सर्वस्वीकार्य बनाउन सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुने गरी ‘सहमतिको साझा संयन्त्र’ निर्माण गर्न देउवा समूहले माग गरेको छ । पार्टीको भावी दिशा र सङ्गठनात्मक अवस्थाबारे छलफल गर्न तत्काल ‘पूर्ण महासमिति’को बैठक बोलाउन भेलाले आह्वान गरेको छ । मनोमानी ढङ्गले गरिएको विधान संशोधन कदापि स्वीकार्य नहुने अडान राख्दै देउवा पक्षले नेतृत्वलाई सजग गराएको छ ।
आम निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा गर्नुको साटो जिल्ला–जिल्लामा आफ्ना विरोधी कार्यकर्तालाई लक्षित गरी थालिएको अनुशासनको कारबाहीप्रति भेलाले कडा विरोध जनाएको छ । निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्दा सिर्जना भएको विभाजित मनस्थितिका कारण हार व्यहोर्नुपरेको यथार्थलाई लुकाएर कार्यकर्तामाथि प्रतिशोध साध्नु गलत भएको उनीहरूको निष्कर्ष छ ।

















