Logo

३१ बैशाख, चितवन । मृत्युलाई जितेर सामान्य जीवनमा फर्किएका माडी–९ का नारायण आचार्य “प्रकाश” को खुसी धेरै समय टिक्न सकेन। २०७२ सालमा आफ्नै बुवाले एउटा मृगौला दिएर छोरालाई नयाँ जीवन दिएका थिए। तर, कसैले सोचेको थिएन—जुन खोपले संसारलाई कोभिडबाट जोगायो, त्यही खोप नारायणका लागि अभिशाप बनिदिनेछ।

कोभिड–१९ को भ्याक्सिन लगाएपछि उनको शरीरमा देखिएको रियाक्सनले प्रत्यारोपण गरिएको मृगौला नै बिग्रियो। अहिले उनी पुनः मृत्युसँग पौँठेजोरी खेल्दै अस्पतालको शय्यामा डायलासिसको सहारामा बाँचिरहेका छन्।

नारायणको अवस्था अहिले यति दयनीय छ कि उनलाई पुनः मृगौला फेर्न झन्डै ५० लाख रुपैयाँ आवश्यक छ। तर बिडम्वना, लामो समयदेखि उपचार गर्दा गर्दा घरको आर्थिक अवस्था शून्यमा झरेको छ। उनीसँग अहिले ज्यान बचाउन खाइरहनुपर्ने नियमित औषधिसम्म किन्ने पैसा छैन। आम्दानीका सबै ढोका बन्द भएका छन् भने खर्चको पहाडले उनलाई थिचेको छ। उनी अहिले भरतपुर–५ इन्द्रपुरीमा आफन्तको शरणमा बसेर आफ्नो अन्तिम आशा कुरिरहेका छन्।

सहपाठीहरूको मलम: “हामी छौँ नि साथी”

यस्तो कठिन मोडमा उनलाई साथ दिन जनजीवन माध्यमिक विद्यालय, माडीका पुराना साथीहरू अगाडि सरेका छन्। एसएलसी २०५८ ब्याचका सहपाठीहरूले मेसेन्जरमा एउटा समूह बनाएर “आफ्नो साथी बचाऔँ” अभियान सुरु गरे। जसबाट संकलित १ लाख ९५ हजार रुपैयाँ आज नारायणलाई हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण गर्दै अभियानका संयोजक लोकराज सापकोटाले भन्नुभयो, “हामीले त केवल एउटा सानो प्रयास मात्र गरेका हौँ। हाम्रो एउटा साथीले आर्थिक अभावकै कारण संसार छोड्नु नपरोस् भन्ने हाम्रो चाहना हो।” यो सहयोगले नारायणको आँखामा केही बेरका लागि भए पनि आशाको चमक दिएको छ।

तपाईंको सानो सहयोगले कसैको संसार जोगिन सक्छ

नारायण आचार्य केवल एउटा नाम मात्र होइनन्, उनी एक परिवारको खम्बा हुन्। ५० लाखको खर्च उनका लागि असम्भव पहाड जस्तै छ, तर हामी सबैले थोरै थोरै सहयोग गर्यौँ भने उनले फेरि नयाँ जीवन पाउन सक्छन्।

सहयोगका लागि सम्पर्क र बैंक विवरण:
* नाम: नारायण आचार्य
* बैंक: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माडी शाखा
* खाता नम्बर: १४६०१०००००६१८०१०
* सम्पर्क नम्बर: ९७६७२१६१६२

सम्पादकीय नोट: तपाईंले चिया खर्च कटाएर दिने थोरै रकमले पनि नारायणलाई औषधि किन्न र पुनः प्रत्यारोपणको बाटो खोल्न मद्दत पुग्नेछ। मानवताको नाताले यो खबरलाई फैलाउन र सहयोग गर्न अपिल गर्दछौँ।


सम्बन्धित समाचार