Logo

३१ बैशाख, वीरगञ्ज । मधेस प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक र प्रशासनबीचको विवादले उग्र रूप लिँदा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार भएको छ । क्याम्पसको आन्तरिक व्यवस्थापन र सेवा सुविधालाई लिएर असन्तुष्ट रहेका शिक्षकहरूले क्याम्पस प्रमुख किशोरी राय यादवलाई कालोमसो दलेर विरोध जनाएका हुन् ।

लामो समयदेखि क्याम्पसको प्रशासनिक सुधार, पारिश्रमिकको नियमितता र शिक्षकहरूका माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित थिए । माग पूरा गराउन दबाब दिने उद्देश्यले क्याम्पस प्रमुखलाई प्रांगणमै अचानक दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्

दुर्व्यवहारको भिडियो अहिले समाजिक सञ्जालमा द्रुतगतिले फैलिरहेको छ । “सम्वादबाट समस्या सुल्झाउनुको साटो यसरी अमानवीय व्यवहार प्रदर्शन गरिनु निन्दनीय छ,” क्याम्पसका एक कर्मचारीले भने ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली क्याम्पस पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। क्याम्पस प्रमुख यादवले आफूमाथि भएको यो आक्रमण व्यक्तिगत मात्र नभई शैक्षिक संस्थाकै मानमर्दन भएको बताएका छन् ।

शिक्षक जस्तो मर्यादित पेशामा रहेका व्यक्तिहरूबाटै आफ्नै संस्थाको प्रमुखमाथि भएको यस प्रकारको दुर्व्यवहारले वीरगञ्जको शैक्षिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ। शिक्षाविद्हरूले माग राख्ने अधिकार सबैलाई भए पनि विरोधको शैली अराजक र अशोभनीय भएको भन्दै घटनाको भर्त्सना गरेका छन्। घटनापछि क्याम्पसको पठनपाठन र प्रशासनिक कार्यमा समेत असर परेको छ ।


सम्बन्धित समाचार