Logo

३१ बैशख, काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका पाँचथरका ३६ वर्षीय सुवास लावती संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ परेका छन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका लावतीलाई एनसीबी आबुधाबीको समन्वयमा पक्राउ गरी बिहीबार काठमाडौँ ल्याइएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएका लावतीले पीडितलाई आकर्षक तलबको लोभ देखाएर सर्बिया पठाइदिने आश्वासन दिएका थिए ।

सोही बहानामा उनले पीडितबाट विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए । ठगीको उजुरीपछि नेपाल प्रहरीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाए पनि उनी वैदेशिक रोजगारीकै सिलसिलामा विदेश पलायन भएका थिए ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा २०८२ साउन २६ गते रेड नोटिस जारी गरिएको थियो । नेपाल ल्याइएका लावतीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पक्राउले वैदेशिक रोजगारीका नाममा ठगी गरी विदेशमा लुकेर बस्नेहरूका लागि कडा चेतावनी दिएको छ ।


सम्बन्धित समाचार