Logo

३१ बैशाख,काठमाडौं । प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै अगाडि बढेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि तल्लो सदनमा औपचारिक बहस सुरु भएको हो ।

यसअघि बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको भौतिक उपस्थिति र सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राखेपछि सदन अवरुद्ध भएको थियो । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग संवाद गरी निकास निकाल्ने आश्वासन दिए पनि बिहीबारको बैठकमा पनि बालेन उपस्थित भएनन् । प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी सांसदहरूको असन्तुष्टिका बीच छलफल प्रक्रियालाई अघि बढाइएको छ ।

छलफल सुरु हुनुअघि विशेष समय लिएर बोल्दै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसद्‍लाई बेवास्ता गरेको भन्दै कडा आलोचना गरेका छन् । नेपाली कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाकी खुस्बु ओली र नेकपाका युवराज दुलालले सरकारले कुन शासन प्रणाली अवलम्बन गर्न खोजेको हो भन्दै प्रश्न उठाएका थिए । उनीहरूले कार्यकारी प्रमुख सदनप्रति उत्तरदायी हुनुपर्ने संसदीय मान्यतालाई प्रधानमन्त्रीले लत्याएको आरोप समेत लगाए ।

बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि विपक्षीहरूले हालेका ३५ वटा संशोधन प्रस्तावमाथि पनि बहस भइरहेको छ । आजै छलफल सकेर उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ ।

प्रधानमन्त्री उपस्थित नभएका कारण उनको तर्फबाट सम्भवतः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी रहेको बुझिएको छ । प्रधानमन्त्रीको यो शैलीलाई लिएर राजनीतिक वृत्तमा संसद् र कार्यपालिकाबीचको दूरी बढ्न सक्ने भन्दै बहस सुरु भएको छ ।


सम्बन्धित समाचार