३१ बैशाख, काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले आईजीपी दानबहादुर कार्कीलाई बुझाएको प्रतिवेदनमा घटनाको प्रकृति र दोषीउपर गर्नुपर्ने कारबाहीबारे स्पष्ट सिफारिस गरिएको छ । प्रतिवेदनले मृतक श्रीकृष्णको मृत्यु ‘झुन्डिएर नै भएको’ निष्कर्ष निकाल्दै यसमा कुनै बाह्य कुटपिट वा चोटपटक नदेखिएको उल्लेख गरेको छ ।
छानबिनका क्रममा त्रिवि शिक्षण अस्पतालमा चार जना चिकित्सकको संलग्नतामा गरिएको पोस्टमार्टम रिपोर्टले समेत बिकको शरीरमा निलडाम वा चोटपटक नरहेको र मृत्युको कारण झुन्डिनु नै रहेको पुष्टि गरेको छ ।
वैशाख ७ गते साँझ हिरासतको शौचालयमा बिकले आफैँले लगाएको सर्टको पासो लगाएर आत्महत्या गरेको प्रहरीको दाबीलाई समितिको अध्ययनले सदर गरेको छ । यसअघि रास्वपा सांसद खगेन्द्र सुनार लगायतले बिकको शरीरमा निलडाम रहेको भन्दै हत्याको आशङ्का व्यक्त गरे पनि प्राविधिक र चिकित्सा प्रतिवेदनले त्यसलाई अस्वीकार गरेको छ ।
समितिले घटनाको समयमा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै इलाका प्रहरी कार्यालय खुर्कोटका इन्चार्ज इन्स्पेक्टर वसन्त भुजेल र हिरासत कक्षको ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ। युनिटभित्र थुनुवाको सुरक्षाको मुख्य दायित्व कार्यालय प्रमुखको हुने भएकाले यसमा जिम्मेवारी वहन नगरेको समितिको ठहर छ ।
साथै, समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन हिरासतको मानव अधिकार र सुरक्षा व्यवस्था मजबुत बनाउने सम्बन्धमा प्रहरी मुख्यालयलाई विस्तृत सुझाव समेत दिएको छ । यो प्रतिवेदन हाल थप प्रक्रियाका लागि गृह मन्त्रालयमा पठाइएको छ ।

















