४ जेठ, पोखरा । चितवनको भरतपुर महानगरपालिका–९, शरदपुरमा १६ वर्षअघि स्थापना भएको रोयल पेन्ट्स प्राइभेट लिमिटेड ले “खुसी बाँडे खुसी बढ्छ” भन्ने नारासहित पोखरास्थित माउन्ट कैलाश रिसोर्ट मा भव्य विक्रेता भेला सम्पन्न गरेको छ । जेठ २ र ३ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपालभरबाट आएका करिब २०० विक्रेताको उत्साहजनक सहभागिता रहेको थियो ।
एक रात दुई दिनको विशेष व्यवस्थासहित आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विक्रेताहरूलाई कदरपत्र, प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी विक्रेता सञ्चालकहरूले आफूहरू रोयल पेन्ट्स प्राइभेट लिमिटेड बाट उत्पादित रङहरू बिक्री गर्न पाउँदा गर्व र खुसी लागेको बताएका थिए । उनीहरूले कम्पनीसँगको सहकार्यले व्यवसायिक विश्वास र सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका थिए ।
कार्यक्रममा कम्पनीद्वारा उत्पादन गरिएका विभिन्न रङ तथा सामग्रीहरूको गुणस्तर, प्रयोग विधि, बजार अवस्था र आगामी योजनाबारे विस्तृत जानकारी गराइएको थियो । साथै बजार विस्तार र बिक्री प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउन कम्पनीले विशेष योजना समेत सार्वजनिक गरेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष परमेश्वर भण्डारीले विक्रेताहरू कम्पनीको सफलताको मुख्य आधार भएको बताए । उनले भने, “हामी उत्पादनसँगै विश्वास र सम्बन्ध पनि निर्माण गरिरहेका छौँ । विगत १६ वर्षदेखि उपभोक्ताको भरोसा जित्दै यहाँसम्म आइपुग्नुमा देशभरिका विक्रेताहरूको ठूलो योगदान छ । ‘खुसी बाँडे खुसी बढ्छ’ भन्ने भावनासहित हामी अझ गुणस्तरीय उत्पादन र विश्वासिलो सेवा लिएर अगाडि बढिरहेका छौँ ।”
कार्यक्रममा आर्थिक कारोबारका आधारमा उत्कृष्ट विक्रेताहरूलाई विशेष सम्मान गरिएको थियो । “डाइमण्ड समूह” अन्तर्गत ४० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्दै आर्थिक वर्ष २०८३ का लागि खाता खोल्न सफल २० जना विक्रेता सञ्चालकलाई सम्मान गरिएको थियो । त्यस्तै १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ५ जना विक्रेतालाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । आर्थिक वर्ष २०८२ मा सर्वाधिक बिक्री गर्ने १ जना विक्रेता सञ्चालकलाई समेत विशेष सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमले समेत विक्रेता भेलालाई थप आकर्षक बनाएको थियो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा चर्चित लोकगायक बद्री पंगेनी ले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै रत्ननगर कला केन्द्र का कलाकारहरूले विविध सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक, कर्मचारी तथा देशभरका विक्रेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्राकृतिक सौन्दर्यले भरिएको पोखरामा सम्पन्न उक्त कार्यक्रमपछि सहभागीहरूलाई फेवाताल, बेगनास ताल लगायतका रमणीय पर्यटकीय स्थलहरूको भ्रमण गराइएको थियो । दुईदिने कार्यक्रम सम्पन्न भएपछि परमेश्वर भट्टराई ले सम्पूर्ण सहभागी विक्रेताहरूलाई विदाइ गरेका थिए ।
सहभागीहरूले यस्तो कार्यक्रमले कम्पनी र विक्रेताबीचको सम्बन्धलाई अझ आत्मीय, विश्वासिलो र दीर्घकालीन बनाएको बताएका छन् । “खुसी बाँडे खुसी बढ्छ” भन्ने नारालाई व्यवहारमै उतार्दै आयोजना गरिएको उक्त कार्यक्रमले व्यवसायिक सहकार्यसँगै आपसी सम्बन्धलाई समेत थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

















