४ जेठ,वीरगञ्ज । वीरगञ्ज-१५ मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ‘आईएसओ-९००१:२०१५’ गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) प्रमाणीकरण प्राप्त गरेको छ।
अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि संस्थालाई यो अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको हो।
अस्पतालका अनुसार यस प्रमाणीकरण अन्तर्गत चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक र अन्य सहयोगी सेवाहरू समेटिएका छन्। यसले संस्थाको गुणस्तर सुनिश्चितता र मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पताल प्रशासनले जनाएको छ।
नेशनल मेडिकल कलेज व्यवस्थापनले यो प्रमाणीकरणबाट अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्न र प्रक्रिया-केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूपको चिकित्सा शिक्षा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले आईएसओ-९००१:२०१५ प्रमाणीकरण केवल एउटा उपलब्धि मात्र नभई गुणस्तरीय सेवा र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए।
“बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहनेछ,” प्रबन्ध निर्देशक अन्सारीले भने, “हामीले यस प्रमाणीकरणलाई सम्मानसँगै एउटा ठूलो जिम्मेवारीका रूपमा लिएका छौँ। सुरक्षित र उच्च गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहनेछ।”


















