५ जेठ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्राकृतिक सम्पदाको अन्धधुन्ध विनाश र फितलो बजेट कार्यान्वयनलाई लिएर सरकारमाथि कडा प्रहार गरेका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को सोमबार बसेको बैठकमा बोल्दै नेता ठाकुरले मधेस प्रदेशले भोगिरहेको वातावरणीय संकट र राज्यको उदासीनताबारे गम्भीर प्रश्न उठाएका हुन् ।
अध्यक्ष ठाकुरले चुरे र भावर क्षेत्रमा भइरहेको अनियन्त्रित एवं अवैध दोहनका कारण समग्र मधेस क्षेत्र मरुभूमिकरण र प्राकृतिक विपत्तिको चपेटामा परेको बताए । चुरेको विनाशकै कारण वर्षायाम सुरु हुनासाथ मधेसका तल्लो क्षेत्रमा ‘उत्तरतर्फ भू-क्षय र कटान तथा दक्षिणतर्फ डुबान’ को भयावह चक्र सुरु हुने गरेको उनको भनाइ थियो ।
“प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले मधेसका महिनौँसम्म बस्तीहरू पानीमा डुब्छन्, नागरिक घरबारविहीन हुन्छन्,” आक्रोश पोख्दै अध्यक्ष ठाकुरले भने, “तर, राज्यका जिम्मेवार निकाय र सरकार भने यो संवेदनशीलतालाई बुझ्न छाडेर मूकदर्शक बनिरहेका छन्।”
भौतिक पूर्वाधार विकासका नाममा वातावरणीय चेतनालाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे । विकासका योजनाहरू सन्तुलित र प्रकृतिमैत्री नहुँदा विगतमा स्थापित कयौँ पुराना विद्यालयहरू समेत वातावरणीय जोखिम र भौगोलिक विनाशका कारण बन्द हुने अवस्थामा पुगेको तर्फ उनले संसदीय समितिको ध्यानाकर्षण गराए ।
सरकारले कागजमा विकासका ठूलाठूला कुरा गरे पनि व्यवहारमा भने जनताले त्यसको उल्टो र प्रतिकूल परिणाम भोग्नुपरिरहेको ठाकुरको टिप्पणी थियो । देशको बजेट विनियोजन प्रणाली र विनियोजित बजेट खर्च गर्ने सरकारी प्रक्रिया कतिपय ठाउँमा अपारदर्शी र असन्तुलित रहेको भन्दै उनले तत्काल नीतिगत सुधार नगरे सुशासनको नारा नारामै सीमित हुने चेतावनी दिए ।
संसदीय समितिमा मधेसका मुद्दा र पर्यावरणको सवाल जोडदार रूपमा उठेपछि अन्य सदस्यहरूले पनि चुरे संरक्षणका लागि छुट्टै अधिकारसम्पन्न निकाय र कडा कानुनको आवश्यकता औँल्याएका छन् ।

















