Logo

 ६ जेठ,काठमाडौं ।  पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र निर्माण गरिएका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाइए महानगरले आफैँ भत्काउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी दिएको छ।

महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ गाईघाटसम्म पुगेर फेवातालमा मिसिने फिर्केखोलाको किनार क्षेत्र अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गरिएको पाइएको छ।

महानगरको प्राविधिक टोलीले यसअघि नै स्थलगत नापजाँच गरी खोलाको सीमाभित्र पर्ने संरचनाहरू हटाउन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।

यसअघि २०८० कात्तिक १० गते नै ती संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरिएको थियो। सो सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले महानगरको सूचनामाथि उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने फैसला गर्दै महानगरको कदमलाई सदर गरेको थियो। यससँगै अतिक्रमण हटाउने कानुनी बाटो स्पष्ट भएको महानगरले जनाएको छ।

महानगरले अदालतको आदेश र गत वैशाख ४ गते जारी गरिएको सूचनालाई आधार मान्दै यो अन्तिम सूचना जारी गरिएको स्पष्ट पारेको छ।

सूचनाअनुसार आगामी २०८३ जेठ ९ गतेभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना स्वेच्छिक रूपमा हटाउनुपर्नेछ। सो अवधिभित्र हटाउन असफल भएमा महानगरले डोजर परिचालन गरी हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाटै असुल उपर गरिने चेतावनी दिइएको छ।


सम्बन्धित समाचार