८ जेठ, जनकपुरधाम । मधेश प्रदेशको सत्ता समीकरण र आन्तरिक शक्ति सन्तुलनमा आएको फेरबदलसँगै मन्त्रिपरिषद्को व्यापक पुनर्गठन र कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको विशेष सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठनसँगै मुख्यमन्त्री यादवले सरकारका सबैभन्दा शक्तिशाली र नीतिगत रूपमा महत्त्वपूर्ण मानिने विकासे तथा आर्थिक मन्त्रालयहरूको जिम्मेवारी आफैँसँग सुरक्षित राखेका छन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यविभाजनपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, र खेलकुद तथा समाज कल्याण मन्त्रालयको कार्यभार आफैँले सम्हाल्ने गरी तोकेका छन् । मुख्य मन्त्रालयहरू अरू दल वा मन्त्रीलाई नदिएर मुख्यमन्त्री आफैँले राख्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
कुन मन्त्रीलाई कुन जिम्मेवारी ?

मन्त्रिपरिषद् पुनर्गठन र नयाँ राजनीतिक समीकरणको खाका तयार भएलगत्तै गएराति नै प्रदेश प्रमुखको कार्यालयमा एक विशेष समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेका अनुसार समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष नवनियुक्त विनाविभागीय मन्त्री महम्मद समिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका समिरलाई आगामी दिनमा राजनीतिक सहमति र थप छलफलका आधारमा उपयुक्त मन्त्रालयको जिम्मेवारी तोकिने स्रोतले जनाएको छ।

















