Logo

८ जेठ, काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि शुरु गरेको खुला प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रियालाई २४ घण्टा पनि बित्न नपाउँदै एकाएक रद्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार (जेठ ७ गते) मात्रै राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गरी योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको थियो ।

तर, त्यसको भोलिपल्टै अर्थात् आज (जेठ ८ गते) मन्त्रालयले अर्को आकस्मिक सूचना प्रकाशित गर्दै हिजो खुला गरिएको अध्यक्ष पदको आवेदन प्रक्रिया पूर्ण रूपमा रद्द गरिएको जानकारी दिएको हो ।

सरकारी सञ्चार माध्यमहरूलाई स्वायत्त, व्यावसायिक र व्यवस्थित बनाउने भन्दै मन्त्रालयले जेठ १८ गतेसम्मका लागि खुला प्रतिस्पर्धाको आकर्षक खाकासहित आवेदन मागेको थियो । तर, सूचना सार्वजनिक भएको भोलिपल्टै सम्पूर्ण प्रक्रियामा ब्रेक लगाइएपछि प्रशासनिक र राजनीतिक वृत्तमा यसलाई निकै अचम्म र संशयका साथ हेरिएको छ ।

मन्त्रालयले दोस्रो सूचनामा आवेदन रद्द गर्नुको कुनै ठोस प्राविधिक वा कानुनी कारण खुलाएको छैन । सूचनामा केवल “विशेष कारणवश” दरखास्त आह्वानको सूचना रद्द गर्नुपरेको उल्लेख छ ।

भित्रि खेलको आशङ्का

मन्त्रालयको यो अप्रत्याशित र उल्टो कदमप्रति कतिपय विज्ञहरूले कडा टिप्पणी गरेका छन् । खुला प्रतिस्पर्धाको नारा दिएर नाटक मञ्चन गरिएको र भित्रभित्रै कुनै अमुक राजनीतिक व्यक्ति वा ‘आफ्ना मान्छे’ लाई सेटिङमा ल्याउने खेलमा कुरा नमिलेपछि हतार-हतार सूचना रद्द गरिएको हुन सक्ने कतिपयको आशङ्का छ ।

मन्त्रालय सम्बद्ध उच्च स्रोतका अनुसार, सूचना प्रकाशित भएलगत्तै राजनीतिक नेतृत्व र उच्च प्रशासनिक तहबीच योग्यताका मापदण्ड वा आकांक्षीहरूको व्यवस्थापनलाई लिएर कुरा बाझिएपछि तत्कालका लागि यो प्रक्रिया स्थगित गरिएको हो । “विशेष कारण” को आवरणमा गुमराहमा राखिएको यस निर्णयले सरकारी नियुक्ति प्रक्रियाको अपारदर्शिता र हचुवापनलाई पुनः छताछुल्ल पारेको देखिन्छ ।


सम्बन्धित समाचार