९ जेठ, महोत्तरी । स्थानीय तहहरूमा बढ्दो आर्थिक बेथिति र कमिसनतन्त्रको एउटा रूप महोत्तरीमा पुनः सार्वजनिक भएको छ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासको टोलीले अधिकृत यादवलाई शुक्रबार दिउँसो सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार एक स्थानीय उपभोक्ता समितिका अध्यक्षसँग विकास निर्माण कार्यको भुक्तानी वा प्रशासनिक सहजीकरण गरिदिने बहानामा अधिकृत यादवले मोटो रकम माग गरिरहेका थिए । उपभोक्ता समितिले यसबारे अख्तियारलाई पूर्वजानकारी गराएपछि बिछ्याइएको रणनीतिक जाल (स्ट्रिङ अपरेसन) का क्रममा यादव ७२ हजार रुपैयाँ नगद घुससहित औडी सडक क्षेत्रबाट समातिएका हुन् ।
अख्तियारको टोलीले उनलाई रकम बुझिसकेकै अवस्थामा घेरा हाली नियन्त्रणमा लिएको थियो।
रङ्गेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादवको साथबाट बरामद भएको ७२ हजारबाहेक अन्य स्रोत नखुलेको रकम समेत फेला परेको अख्तियार टोलीको आशङ्का छ । पक्राउ परेलगत्तै उनको शरीर र सवारी साधनको समेत खानतलासी गरिएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले घटनाको पुष्टि गर्दै अधिकृत यादवमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ । उनलाई थप अनुसन्धान र बयानका लागि शुक्रबार नै बर्दिबास कार्यालय पुर्याइएको छ । स्थानीय तहको मुख्य प्रशासनिक जिम्मेवारी सम्हालेका अधिकारी नै यसरी सडकमै घुससहित समातिएपछि सोनमा गाउँपालिका र जिल्लाका अन्य प्रशासनिक वृत्तमा खलबली मच्चिएको छ ।

















