१२ जेठ, चितवन । गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते माडीको बसन्तपुरमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव २०८३” सम्बन्धी विस्तृत जानकारी दिन भोलि बिहान ८ बजे भरतपुरस्थित उद्योग संघ चितवन को परिसरमा पत्रकार सम्मेलन आयोजना गरिने भएको छ ।
माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिका को प्रवर्द्धनमा सञ्चालन हुन लागेको उक्त उत्सवलाई माडीको मौलिक संस्कृति, परम्परा, कला र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आयोजना गर्न लागिएको हो ।
उत्सवमा थारु, बोटे, दुरा, मगर, गन्धर्व लगायत विभिन्न जातजातिका मौलिक झाँकी, लोकनृत्य, भजनकीर्तन, पञ्चेबाजा तथा स्थानीय कला–संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुति समावेश गरिनेछ । साथै स्थानीय खानाका परिकारको विशेष मेला समेत सञ्चालन गरिने तयारी गरिएको छ ।
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले पत्रकार सम्मेलनमार्फत उत्सवको उद्देश्य, तयारी र महत्वबारे विस्तृत जानकारी दिइने बताउँदै माडीको मौलिक संस्कृति र परम्परालाई संरक्षण सङै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानका रूपमा यो कार्यक्रम अघि सारिएको जानकारी दिए ।
उनले यस्ता सांस्कृतिक उत्सवले नयाँ पुस्तालाई आफ्नो कला, भाषा र संस्कृतिसँग जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।


















