२१ जेठ,वीरगञ्ज । चुरे क्षेत्रको तीव्र विनाश, बढ्दो पानी संकट, मानव–वन्यजन्तु द्वन्द्व तथा प्राकृतिक स्रोतको अव्यवस्थित दोहनले तराई–मधेसको भविष्य संकटमा पर्न सक्ने भन्दै संरक्षणसम्बन्धी विषयलाई सञ्चार माध्यमले प्राथमिकताका साथ उठाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सिमरामा आयोजित दुईदिने ‘सञ्चार र संरक्षण कार्यशाला’मा सहभागी विज्ञ, संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूले चुरे संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको जीवनसँग संरक्षणको प्रत्यक्ष सम्बन्धबारे गम्भीर छलफल गरेका हुन्।
कार्यशालामा नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले चुरे क्षेत्रको संरक्षणलाई मधेसको पानी तथा पर्यावरणीय सुरक्षासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा उल्लेख गर्दै प्राकृतिक सम्पदाको दोहन रोक्न प्रभावकारी पहल आवश्यक रहेको बताए। सहभागीहरूले चुरे क्षेत्रको क्षयीकरणका कारण तराईका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै गएको र त्यसको प्रत्यक्ष असर स्थानीय समुदायले भोग्नुपरेको धारणा राखे।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीलगायत सहभागीहरूले पानीको अभाव, मानव–वन्यजन्तु द्वन्द्व, रैथाने ज्ञान तथा सीपको संरक्षण र संरक्षण क्षेत्रका कारण देखिएका सामाजिक परिवर्तनका विषयलाई तथ्यपरक ढङ्गले सञ्चार माध्यममा प्रस्तुत गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जय कार्कीले सामुदायिक वनको सबलीकरण र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। सहभागीहरूले संरक्षणका मुद्दा वन वा वन्यजन्तुसम्म सीमित नभई मानव जीवन, जीविकोपार्जन, कृषि, पानी र समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए।
मकवानपुरकी पत्रकार सरिता दाहालले वन्यजन्तुबाट हुने क्षतिको राहत तथा क्षतिपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै संरक्षण अभियानमा सञ्चार माध्यमको भूमिका अझ सशक्त हुनुपर्ने बताइन्।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमिति सदस्य साजिर मन्सुरले संरक्षणसम्बन्धी निकाय र सञ्चारकर्मीबीच समन्वय तथा रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरे। त्यसैगरी नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले वन, वातावरण तथा जलवायु परिवर्तनका विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको बताए।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षणका प्रयास र चुनौतीलाई जनस्तरसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै संरक्षणसम्बन्धी समाचारलाई थप प्राथमिकता दिन आग्रह गरे। उनले पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीच सहकार्यको मोडल विकास गरी दुवै क्षेत्रलाई लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा पनि व्यक्त गरे।
तराई आर्क ल्याण्डस्केप एण्ड कन्जर्भेशन प्रोग्राम (TAL) को आयोजनामा जेठ १९ र २० गते सम्पन्न कार्यशालामा मधेस प्रदेशका आठ जिल्लासहित मकवानपुर र चितवनका पत्रकार महासङ्घका अध्यक्ष तथा वन, वन्यजन्तु र वातावरण क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डब्लुडब्लुएफ नेपालका ल्याण्डस्केप युनिट प्रमुख डा. अनन्त भण्डारीले नेपालमा भूपरिधि (ल्याण्डस्केप) स्तरको संरक्षणको आवश्यकता र प्रभावकारिताबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रम व्यवस्थापक भरतप्रसाद भट्टले कार्यक्रमको अवधारणा तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराएका थिए भने डब्लुडब्लुएफ नेपालका वन्यजन्तु कार्यक्रम प्रमुख शशाङ्क पौडेलले संरक्षण अभियानको सफलताका लागि सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको बताए।
त्यस्तै, TAL कार्यक्रमका क्लस्टर इन्चार्ज प्रेम पौडेलले तराई आर्क ल्याण्डस्केप क्षेत्रमा सञ्चालन भइरहेका संरक्षण कार्यक्रम, तिनका उपलब्धि तथा चुनौतीबारे जानकारी गराउँदै संरक्षण र विकासबीच सन्तुलन कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे।
कार्यशालाको निष्कर्षमा सहभागी पत्रकारहरूले वन, वन्यजन्तु, जैविक विविधता, चुरे संरक्षण तथा वातावरणीय मुद्दालाई तथ्यमा आधारित र प्रभावकारी ढङ्गले सञ्चार माध्यममार्फत उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


















