Logo

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा स्वास्थ्य स्वच्छता मन्त्रालयले देशका ३२ वटा प्रमुख अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गाको विवरण ३ दिनभित्र पेस गर्न कडा निर्देशन दिएको छ ।

मन्त्रालयले यसअघि वैशाख ३० गते नै यस्तो निर्देशन दिएको भए तापनि अटेर गरेको पाइएपछि पुनः ताकेता गर्दै उक्त समयसीमा तोकेको हो । यी संस्थाहरूलाई आफ्नो जग्गाको साँध-सिमाना यकिन गर्न, नक्साअनुसार जग्गा छरछैन जाँच गर्न र अनधिकृत संरचना वा अतिक्रमण भए/नभएको विस्तृत विवरण बुझाउन भनिएको छ ।

मन्त्रालयले जग्गा संरक्षणका लागि थप स्पष्ट कदम चाल्न समेत निर्देशन दिएको छ । यदि अस्पतालको जग्गा अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई तत्काल लिखित सूचना जारी गर्ने र अटेर गरेमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाएर संस्थाको भोगाधिकार सुनिश्चित गर्न भनिएको छ ।

साथै, अतिक्रमणबाट मुक्त गरिएको वा खाली जग्गामा पुनः कब्जा हुन नदिन घेराबार (कम्पाउन्ड वाल) लगाउने र जग्गाको लालपुर्जा तथा स्रेस्ता अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

विवरण बुझाउनुपर्ने संस्थाहरूमा वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा अस्पताललगायतका ३२ वटा निकायहरू रहेका छन् । सरकारी स्वास्थ्य संस्थाको भौतिक सम्पत्ति र जग्गाको सुरक्षालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको देखिन्छ ।


सम्बन्धित समाचार