Logo

१९ जेठ, कलैया (बारा) । सडकमा देखिने तीव्र गति र जथाभाबी ओभरटेक गर्ने होडबाजीले कसरी निर्दोष नागरिकको ज्यान जोखिममा पार्छ भन्ने अर्को एउटा भयानक उदाहरण बारामा देखिएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा सोमबार राति टिप्परले ठक्कर दिँदा आफ्नै घरको आँगनमा आनन्दले बसिरहेका एकै गाउँका तीन जना स्थानीय गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ४ ख ७८८२ नम्बरको ट्रकलाई सोही दिशाबाट तीव्र गतिमा आएको रा १ ख १५३६ नम्बरको टिप्परले उछिन्ने (ओभरटेक गर्ने) प्रयास गरेको थियो । सोही क्रममा टिप्पर अनियन्त्रित भई सडक छेउमा रहेको घरको आँगनमा ठोकिएको थियो, जहाँ परिवारका सदस्यहरू बसिरहेका थिए ।

गुडिरहेको सवारी साधन अचानक आँगनमै बज्झिन पुग्दा कलैया–९ रामपुर बस्ने ३५ वर्षीय सैमुदिन अन्सारी, १७ वर्षीय तबरेज आलम र सैमुदिनका २ वर्षीय छोरा समर अली घाइते भएका छन् । घाइतेमध्ये सैमुदिन अन्सारीको खुट्टाको थाइ (तिघ्रा) र कुर्कुच्चामा गम्भीर चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले दिएको जानकारी अनुसार अन्सारीलाई प्रादेशिक अस्पताल कलैयामा प्राथमिक उपचार गरिए पनि चोट गम्भीर भएकाले थप उपचारका लागि वीरगञ्जस्थित सर्वोत्तम अस्पताल पठाइएको छ । हाल उनको अवस्था मध्यम रहेको छ ।

यस्तै, हातमा चोट लागेका अर्का घाइते तबरेज आलमको प्रादेशिक अस्पताल कलैयामै उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेका २ वर्षीय बालक समर अलीको बायाँ खुट्टामा चोट लागेको छ । उनको पनि सोही अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै स्थानीयबासीले खबर गरेपछि अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी सहायक निरीक्षक रमेश चनउ र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा विशेष प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गर्नुका साथै दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले फरार हुन खोज्ने रा १ ख १५३६ नम्बरका टिप्पर चालक कलैया–११ बस्ने २५ वर्षीय रवी राम र ना ४ ख ७८८२ नम्बरका ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका–११ बस्ने ५० वर्षीय लक्ष्मी नारायण सहनीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ । तीव्र गतिको टिप्परको ठक्कर र ओभरटेकको प्रवृत्तिको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको डीएसपी घलेले बताए ।


सम्बन्धित समाचार