१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरलाई नियन्त्रणमा राख्न र ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन ‘स्थायी निक्षेप सुविधा’ लाई दैनिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकका सहायक निर्देशक भिक्टर कुमार सापकोटाद्वारा गरिएको अध्ययनले स्थायी निक्षेप सुविधाको प्रयोग नहुँदा अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झर्ने गरेको देखाएपछि राष्ट्र बैंकले यस्तो नीतिगत सुधार गरेको हो ।
अध्ययन प्रतिवेदनअनुसार, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्न नपाउने दिनमा अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा (२.७५ प्रतिशत) भन्दा निकै तल रहने गरेको छ ।
विगतमा हप्ताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) मात्र यो सुविधा उपलब्ध हुँदा बजारमा अधिक तरलताको अवस्थामा ब्याजदरमा अस्थिरता देखिएको थियो । अध्ययनले स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने दिन अन्तर बैंक दर करिडोरको तल्लो सीमाभन्दा तल नझर्ने सम्भावना ९१ प्रतिशत रहेको निष्कर्ष निकाल्दै यसलाई कार्यालय खुलेको हरेक दिन उपलब्ध गराउन सुझाव दिएको थियो ।
हाल राष्ट्र बैंकले बैंक दरलाई ५.७५ प्रतिशत, नीतिगत दरलाई ४.२५ प्रतिशत र स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशतमा कायम गरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा बैंकहरूले आफ्नो अतिरिक्त रकम यसै सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।
स्थायी निक्षेप सुविधाको प्रयोगका लागि अनिवार्य नगद मौज्दात कायम हुनुपर्ने र कम्तीमा १० करोड रुपैयाँ वा सोभन्दा बढीको ५ करोडले भाग जाने अंकमा हुनुपर्ने व्यवस्था छ ।
ब्याजदर करिडोरमार्फत तरलता व्यवस्थापन गर्न र अल्पकालीन ब्याजदरलाई तोकिएको सीमाभित्र राख्न यो सुविधा अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा स्थापित भएको छ। अध्ययनले स्थायी निक्षेप सुविधाको प्रयोगलाई थप स्वचालित बनाउन समेत सुझाएको छ ।
दैनिक रूपमा यो सुविधा उपलब्ध गराउने नयाँ व्यवस्थाले अब अन्तर बैंक ब्याजदरमा स्थिरता आउने र मौद्रिक नीति कार्यान्वयनमा थप सहजता हुने राष्ट्र बैंकको अपेक्षा छ ।




















