Logo

१९ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै दुई देशबीचको सीमासम्बन्धी विषयहरू पूर्ण रूपमा द्विपक्षीय मामिला भएको र त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने स्पष्ट पारेका छन् ।

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई आफूहरूले ‘नोटिस’ मा लिएको उल्लेख गर्दै सीमांकनको ९८ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । प्रवक्ता जैसवालले बाँकी रहेका केही मुद्दा तथा दशगजा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न दुवै देशबीच विद्यमान द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको बताएका छन् । उनले गण्डक नदीको बहाव परिवर्तनका कारण सिर्जित केही प्राविधिक समस्या र त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीबारे समेत भारतको धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहले गत आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही सन्दर्भमा स्पष्ट पार्दै उनले लिपुलेक र लिम्पियाधुराको विषयमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र यसलाई इतिहासविद् तथा सर्भेयरहरूको टोलीमार्फत ‘टेबल टक’ बाट समाधान गर्ने प्रयास भइरहेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि स्वदेशमा चौतर्फी विरोध र संसद्मा समेत चर्को अवरोध भइरहेको छ । यस्तो अवस्थामा भारतको तर्फबाट आएको यो प्रतिक्रियाले सीमा समस्यालाई कूटनीतिक र द्विपक्षीय वार्ताबाटै सुल्झाउनुपर्ने पुरानै अडानलाई दोहोर्‍याएको छ ।

प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको भन्दै विपक्षी दलहरूले उनको गम्भीर ध्यानाकर्षण गराइरहेका बेला भारतको यो औपचारिक भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार