२० जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि चलिरहेको नियुक्ति प्रक्रियाबाट ठूलो संख्यामा उम्मेदवारहरू बाहिरिएका छन् ।
न्यूनतम योग्यता र आवश्यक कागजातको अभाव देखाउँदै सिफारिस समितिले अध्यक्ष पदका लागि परेको ३२ आवेदनमध्ये ३ जनालाई प्रतिस्पर्धाबाट हटाएको छ । अब उक्त पदका लागि २९ जनाबीच प्रतिस्पर्धा हुनेछ। नाम काटिनेहरूमा राकेश ताम्राकार, माधव अधिकारी र दिपेश शिवाकोटी रहेका छन् ।
प्राधिकरणको सदस्यतर्फको छनोट प्रक्रिया अझ बढी कठोर देखिएको छ । विशेष गरी कानुनतर्फको सदस्यका लागि परेका चारै जना उम्मेदवार (अमृतप्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक) को योग्यता नपुगेपछि सिफारिस समितिले सबैको आवेदन अस्वीकृत गरिदिएको छ। योग्य उम्मेदवार नै नभेटिएपछि यो पदका लागि पुनः दरखास्त आह्वान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
त्यसैगरी, अन्य समूहमा पनि उम्मेदवारहरू छनोटको प्रक्रियाबाट बाहिरिएका छन्। लेखा तथा लेखापरीक्षणतर्फ ९ जनामध्ये ३ जना (प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थप्रसाद यादव) बाहिरिएका छन् भने बजार व्यवस्थापनतर्फ ५ जनामध्ये १ जना (ओमलाल श्रेष्ठ) प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रशासन र प्राविधिक सदस्यतर्फका १५ उम्मेदवारमध्ये ४ जना (धनेश्वर झा, मिनु केसी, फूल बाबु झा र विकास आचार्य) को नाम काटिएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहितका पदाधिकारीहरू पदमुक्त भएका थिए ।
सोही रिक्तता पूर्ति गर्न मन्त्रालयले वैशाख २६ गते पुनः दरखास्त आह्वान गरेको थियो। राजनीतिक नियुक्तिको लामो सूची खारेज भएसँगै सुरु भएको यो नयाँ नेतृत्व छनोट प्रक्रियालाई निकै चासोका साथ हेरिएको छ ।




















