Logo

२० जेठ, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले आफ्नो मन्त्रीमण्डलमा व्यापक हेरफेर गरेको छ ।

पार्टी नेतृत्व र मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेका तर्फबाट सरकारमा सहभागी चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । पदबाट बिदा लिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी रहेका छन् । मुख्यमन्त्री आचार्यले यो राजीनामा आपसी सल्लाह र पार्टीको निर्णयबमोजिम नै भएको स्पष्ट पारेका छन् ।

पार्टीभित्रको आन्तरिक निर्णय र नयाँ अनुहारलाई अवसर दिने रणनीतिका साथ एमालेले मन्त्रीहरूको नाम सिफारिस गरेको छ । मन्त्री बन्ने दौडमा रहेका डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीलाई एमालेले सिफारिस गरेको छ ।

यसमध्ये खत्री यसअघि पनि मन्त्री भइसकेका अनुभवी पात्र हुन् भने भुसाल, घिमिरे र चौधरी पहिलोपटक मन्त्रिपरिषद्मा प्रवेश गर्दैछन् । विशेष गरी दोस्रो कार्यकाल प्रदेशसभा सदस्य बनेर पनि अवसर नपाएका सांसदहरूलाई प्राथमिकता दिने एमालेको नीति देखिएको छ ।

यता, सरकारको नेतृत्व परिवर्तन र मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर नेपाली कांग्रेससँगको सत्ता साझेदारी पेचिलो बनेको छ। कांग्रेसले मुख्यमन्त्रीसहितको पूर्ण पुनर्गठनको अडान राखिरहेका बेला, मुख्यमन्त्री आचार्यले भने असार १ गते बजेट ल्याएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने अडान कायम राखेका छन् ।

जेटको चटारो र सरकारको मन्त्रालय संख्या घटाएर आठवटामा सीमित गर्ने निर्णय कार्यान्वयनको चरणमा रहेको हुँदा, अहिलेको मन्त्रिपरिषद् परिवर्तनलाई सत्ता गठबन्धनको आन्तरिक समीकरणको रूपमा हेरिएको छ । अब कांग्रेसबाट को मुख्यमन्त्री बन्छ भन्ने विषय अझै अनिश्चित रहेकाले प्रदेशको राजनीति आगामी केही दिन थप रोचक हुने देखिएको छ ।


सम्बन्धित समाचार