Logo

२० जेठ, काठमाडौं । नेकपा (एमाले) ले पार्टीको सांगठनिक जग बलियो बनाउने उद्देश्यले काठमाडौंमा दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी राष्ट्रिय कार्यशाला सुरु गरेको छ ।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित उक्त कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले गमलामा बिरुवा रोपी पानी हालेर भव्य रूपमा उद्घाटन गरेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनयता सार्वजनिक कार्यक्रममा नदेखिएका अध्यक्ष ओलीको उपस्थितिलाई एमाले पंक्तिले निकै चासोका साथ हेरेको छ ।

पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित यो कार्यशालामा देशभरका पार्टी संरचनालाई चलायमान बनाउने रणनीति तय गरिने भएको छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी अध्यक्षहरू तथा जनसंगठनका प्रमुखहरूको बाक्लो उपस्थिति छ ।

सांगठनिक गतिशीलता र सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको एमालेले यस मञ्चमार्फत सदस्यता विस्तार र नवीकरणको प्रक्रियालाई थप व्यवस्थित बनाउने योजना बनाएको छ । दुई दिनसम्म चल्ने यो कार्यशालामा पार्टीको तल्लो तहसम्म संगठन विस्तार गर्ने र सदस्यता प्रणालीलाई वैज्ञानिक तथा प्रभावकारी बनाउने विषयमा गहन छलफल र अभिमुखीकरण हुनेछ ।

निर्वाचनपश्चात्को परिवेशमा पार्टीलाई थप एकताबद्ध र अनुशासित बनाउँदै आगामी राजनीतिक यात्रा तय गर्न यो कार्यशाला एमालेका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । अध्यक्ष ओलीको उपस्थिति र निर्देशनले कार्यकर्ता पंक्तिमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार