Logo

२० जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालले अर्को ऐतिहासिक सफलता हात पारेको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१ औँ अधिवेशनअन्तर्गतको अति महत्त्वपूर्ण मानिने ‘प्रथम समिति’ (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्ष पदमा नेपाल निर्विरोध निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले यस गरिमामय जिम्मेवारी सम्हाल्ने भएका हुन् । विश्व शान्ति र निःशस्त्रीकरणका मुद्दामा नेपालले विगत सात दशकदेखि पुर्‍याएको योगदानको कदर स्वरूप अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि यो भरोसा व्यक्त गरेको हो ।

अध्यक्षमा निर्वाचित भएसँगै राजदूत थापाले सदस्य राष्ट्रहरूबाट प्राप्त विश्वासप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आफूलाई सुम्पिएको यो जिम्मेवारीलाई पूर्ण निष्पक्षता, पारदर्शिता र समावेशी भावनाका साथ सफलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निःशस्त्रीकरण र विश्वव्यापी सुरक्षाका जटिल चुनौतीहरूमाझ नेपालको यो नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि थप उचाइमा पुर्‍याएको कूटनीतिज्ञहरूको बुझाइ छ ।

राष्ट्रसङ्घीय प्रथम समितिले विश्वका आणविक अस्त्रहरूको कटौती, अन्तर्राष्ट्रिय सुरक्षाका रणनीतिक विषय र वैश्विक शान्ति स्थापनार्थ आवश्यक नीतिगत निर्णयहरू लिने गर्दछ ।

यस्तो महत्त्वपूर्ण समितिको नेतृत्व नेपालले पाउनुलाई राष्ट्रिय कूटनीतिको ठूलो सफलताका रूपमा हेरिएको छ । यो निर्वाचनले विश्व शान्तिको पक्षमा नेपालको अडिग प्रतिबद्धतालाई थप पुष्टि गरेको छ भने बहुपक्षीय कूटनीतिमा नेपालको प्रभाव विस्तार भएको सन्देश दिएको छ ।


सम्बन्धित समाचार