२१ जेठ,वीरगञ्ज । जानकी मेडिकल कलेज तथा रामजानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।
सीआईबीको टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धानको क्रममा पाण्डेलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले कृत्रिम व्यावसायिक संस्था स्थापना गरी आवश्यक प्रक्रिया पूरा नगरी कर्जा लिएको, धितो सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर देखाई ऋण स्वीकृत गराएको तथा कर्जा रकम तोकिएको उद्देश्यभन्दा फरक क्षेत्रमा प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रभु बैंकबाट लिएको कर्जाको प्रयोग तथा व्यवस्थापनमा गम्भीर अनियमितता देखिएपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान सुरु गरिएको थियो। घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
वि.सं. २०५६ मा धनुषाको रमदैयामा मेडिकल शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित जानकी मेडिकल कलेज स्थापना गरिएको थियो। कलेजका संस्थापक अध्यक्ष डा. रामानन्द सिन्हाले स्थानीय किसानबाट जग्गा खरिद गरी संस्था स्थापना गरेका थिए। स्थापनाको प्रारम्भिक चरणमा कलेज क्षेत्रकै लोकप्रिय शैक्षिक संस्थामध्ये एक मानिन्थ्यो।
तर समयसँगै कलेजमा व्यवस्थापन, आर्थिक अवस्था तथा प्रशासनिक विषयलाई लिएर विभिन्न विवाद देखिन थाले। संस्थापक सिन्हाले पछि कलेज बिक्री गरेपछि ओमप्रसाद पाण्डेले व्यवस्थापन सम्हालेका थिए।
पाण्डेको नेतृत्वकालमा कलेज कर्मचारी आन्दोलन, विद्यार्थी आन्दोलन, व्यवस्थापन पक्षबीचको विवाद तथा स्थानीय समुदायसँग भएका प्रतिबद्धताको कार्यान्वयनलगायत विषयमा पटक–पटक चर्चामा रह्यो। विद्यार्थीहरूले नियमित पठनपाठन, शैक्षिक वातावरण सुधार तथा आवश्यक शैक्षिक सेवा उपलब्ध गराउन माग गर्दै विभिन्न समयमा आन्दोलन गरेका थिए।
त्यस्तै, कर्मचारी तथा प्राध्यापकहरूले तलब तथा सेवासुविधा नपाएको भन्दै विरोध कार्यक्रम सञ्चालन गरेका थिए। यस्ता आन्दोलनका कारण कलेजको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको आरोप लाग्दै आएको छ।
कलेजको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा शैक्षिक गुणस्तरबारे लामो समयदेखि विभिन्न प्रश्न उठ्दै आएका थिए। सरोकारवालाहरूले प्रशासनिक पारदर्शिता, वित्तीय अनुशासन तथा प्रभावकारी अनुगमन आवश्यक रहेको धारणा व्यक्त गर्दै आएका छन्।
अध्यक्ष पाण्डे पक्राउ परेपछि जानकी मेडिकल कलेजको भावी व्यवस्थापन, विद्यार्थीहरूको अध्ययन, कर्मचारीहरूको सेवासुविधा तथा संस्थाको समग्र सञ्चालनबारे पुनः चासो बढेको छ। यस घटनाले निजी मेडिकल शिक्षाको गुणस्तर, संस्थागत उत्तरदायित्व तथा नियामक निकायहरूको भूमिकामाथि समेत बहस सिर्जना गरेको छ।
प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जनाएको छ।


















