२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारका लागि निर्धारित बैठक कोरम नपुगेपछि बस्दै नबसी स्थगित भएको छ ।
समितिका सभापति भरतबहादुर खड्काका अनुसार रास्वपाको जिल्ला अधिवेशनमा सांसदहरूको व्यस्तता र सदनको पछिल्लो परिस्थितिका कारण आवश्यक संख्यामा सदस्यहरूको उपस्थिति नभएपछि बैठक अघि बढ्न सकेन । समितिको आन्तरिक कार्यविधि र बेरुजु न्यूनीकरणजस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्न डाकिएको बैठक यसरी स्थगित भएपछि अर्को सूचना नभएसम्मका लागि प्रभावित भएको छ ।
सभापति खड्काले दिएको जानकारीअनुसार सदनको बैठक २५ गतेका लागि बोलाइएकाले लेखा समितिको अर्को बैठक सम्भवतः २६ वा २७ गते मात्रै बस्ने तयारी छ । समितिको बैठकमा विशेष गरी सरकारी कार्यालयहरूको बेरुजु न्यूनीकरण गर्ने सन्दर्भमा लेखा उत्तरदायी अधिकृतहरूसँग घनिभूत छलफल गर्ने एजेन्डा तय गरिएको थियो ।
तर, कोरमको अभावले गर्दा महत्त्वपूर्ण विषयमा हुन लागेको उक्त छलफल प्रक्रिया तत्कालका लागि रोकिएको छ ।


















