२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले कूटनीतिक वृत्तमा चासो बढाएको छ ।
भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफू नेपाल आउन निकै उत्सुक रहेको र चाँडै नै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । भ्रमण दलमा सहभागी अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीको यो भ्रमणका लागि अब नेपाल सरकारका तर्फबाट आधिकारिक निमन्त्रणा पठाउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकालमा दुई देशबीचको उच्चस्तरीय भ्रमणको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला यो भेटवार्तालाई महत्त्वपूर्ण मानिएको छ । यसअघि प्रधानमन्त्री शाह नियुक्त हुनासाथ मोदीले भारत भ्रमणका लागि निम्तो पठाएका थिए, जसलाई प्रधानमन्त्रीले स्वीकार गरे पनि हालसम्म उनको भ्रमण हुन सकेको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले आफ्नो कार्यकालको पहिलो वर्ष विदेश भ्रमण नगर्ने नीति लिएका कारण मोदीको भ्रमण र शाहको भारत भ्रमणको कूटनीतिक पाटो अहिले पेचिलो बनेको छ ।
प्रधानमन्त्री मोदीले विगतमा चार पटक नेपालको सफल भ्रमण गरिसकेका छन् । सन् २०१४ मा कोइराला सरकारको निम्तोमा पहिलोपटक आएका मोदीले त्यसपछि सार्क सम्मेलन, जनकपुर र पछिल्लो पटक २०२२ मा लुम्बिनीको भ्रमण गरेका थिए ।
परम्परागत रूपमा नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरे पनि पछिल्ला वर्षहरूमा यो अभ्यास केही परिवर्तन भएको छ । यस्तोमा लामिछानेको निमन्त्रणापछि मोदीको पाँचौँ नेपाल भ्रमणको सम्भावना कत्तिको बलियो हुन्छ, त्यो भने आगामी कूटनीतिक पहलकदमीले नै प्रष्ट पार्नेछ ।


















