Logo

२१ जेठ, काठमाडौं ।  सशस्त्र प्रहरी बलको मुख्यालयस्थित सवारी (एमटी) शाखामा बुधबार राति भएको आगलागी घटनाको गम्भीरतालाई मध्यनजर गर्दै बलले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा उक्त समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, घटनाको यथार्थ विवरण पत्ता लगाउन समितिलाई तत्काल काम सुरु गर्न निर्देशन दिइएको छ । समितिलाई छानबिनका लागि कुनै निश्चित हदम्याद नतोकिए तापनि जतिसक्दो चाँडो प्रतिवेदन पेस गर्न भनिएको छ ।

बुधबार राति करिब ८ बजेतिर सुरु भएको आगलागीबाट सवारी शाखामा रहेका केही सवारीसाधनमा भौतिक क्षति पुगेको छ । बंगलामुखी गणबाट खटिएको सुरक्षा टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरीको मुख्यालयमा यसअघि पनि पटक(पटक आगलागीका घटनाहरू दोहोरिँदै आएका छन्, जसमा यसअघि सतंगलस्थित स्टोरमा भएको आगलागी पनि समावेश छ ।

लगातार भइरहेका यस्ता घटनाहरूले मुख्यालयको सुरक्षा संवेदनशीलता र आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ, जसको जवाफ डीआईजी थापा नेतृत्वको समितिले खोज्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै