Logo

२२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कामकाजमा अनुशासन र जवाफदेहिता कायम गर्न भन्दै देशभरका सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।

केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार, हाल ५ वटा छुट्टाछुट्टै टोली परिचालन गरी दैनिक १० वटा कार्यालयमा नियमित रूपमा छड्के जाँच भइरहेको छ । अनुगमनका क्रममा विशेषगरी कर्मचारीको कार्यालय समय पालना, तोकिएको पोशाकको प्रयोग र फाइल व्यवस्थापन (ट्र्याकिङ) लाई मुख्य प्राथमिकतामा राखिएको छ ।

गएको साउन महिनायता मात्रै केन्द्रले एक हजार १३० वटा कार्यालयमा गरेको अनुगमनमा सुधारात्मक अवस्था नदेखिएको पाइएको छ । उक्त अवधिमा छ हजार ७१० जना कर्मचारीले कार्यालय समयको ख्याल नगरेको र एक हजार १६२ जनाले तोकिएको पोशाक नलगाएको तथ्यांक सार्वजनिक भएको छ ।

अनुशासनहीन कार्यमा संलग्न कर्मचारीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ बमोजिम सम्बन्धित कार्यालयमार्फत चेतावनी पत्र दिने र अभिलेख राख्ने प्रक्रिया अघि बढाइएको छ ।

केन्द्रका अनुसार, लगातार दुई पटकसम्म चेतावनी पाएका कर्मचारीलाई नियमानुसार विभागीय कारबाहीको सिफारिससमेत गरिनेछ । काठमाडौं उपत्यका मात्र नभई जनसम्पर्क बढी हुने सातवटै प्रदेशका प्रमुख जिल्लाहरूमा समेत यो अनुगमन अभियानलाई केन्द्रले निरन्तरता दिइरहेको छ ।


सम्बन्धित समाचार