Logo

२२ जेठ,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा शुक्रबार बिहान भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार बिहान करिब १०ः४० बजे फ्याक्ट्रीभित्र विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको नेतृत्वमा ६ जना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा ४ जना प्रहरी घटनास्थलमा खटिएका छन्।

त्यसैगरी औद्योगिक सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सशस्त्र प्रहरी पनि आगो नियन्त्रणका लागि परिचालन गरिएको छ।

आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज र वीरगञ्ज महानगरपालिकाका गरी पाँच वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासीको समेत सहयोगमा आगो निभाउने प्रयास जारी छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार