२३ जेठ,वीरगञ्ज । बाराको पचरौता नगरपालिका–६ पकडियास्थित लक्ष्मिनिया पोखरीको डिलमा भएको हत्या प्रकरणका एक फरार आरोपितलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८० असोज ९ गते साँझ अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती सोनम सहनी, रञ्जित मुखिया र रूपेश कुमार महतोविरुद्ध अनुसन्धान अघि बढाइएको थियो।
घटनापछि फरार रहेका भारतको बिहार राज्य मोतिहारी जिल्ला दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई प्रहरीले करिब तीन वर्षपछि पक्राउ गर्न सफल भएको जनाएको छ। उनलाई बुधबार बारा जिल्लाको पचरौता नगरपालिका–४ बेल्दारी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मुखियामाथि आवश्यक अनुसन्धान पूरा गरी जिल्ला अदालत बारामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्ज, पर्सामा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

















