Logo

२३ जेठ,काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ। यस हारसँगै नेपाल समूह ‘डी’ को उपविजेता बनेको छ।

मलेसियामा हङकङले दिएको १०९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३ ओभर ३ बलमा मात्र ४० रनमै अलआउट भयो। नेपाली ब्याटिङ लाइनअप कमजोर देखिँदा सोनी पाखरिनले सर्वाधिक १२ रन र रुबिना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्। हङकङकी इक्रा सहरले ४ विकेट लिँदै नेपाललाई दबाबमा राखिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा १०९ रन बनाएको थियो। हङकङका लागि यास्मिन दासवानीले ४२ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन्। नेपालका लागि रुबिना क्षेत्री र रिया शर्माले समान १–१ विकेट लिए।

यस जितसँगै हङकङ समूह ‘डी’ को विजेता बनेको छ भने नेपाल उपविजेता बनेको हो। यसअघि दुवै टोली लगातार दुई खेल जित्दै क्वार्टरफाइनल प्रवेश गरिसकेका थिए। नेपालले कतारलाई ८ विकेटले र भुटानलाई ५१ रनले हराएको थियो भने हङकङले कतारलाई ८३ रन र भुटानलाई १४ रनले पराजित गरेको थियो।

समूह चरणबाट कतार र भुटान बाहिरिएका छन्। १८ देश सहभागी प्रतियोगितामा शीर्ष चार टोली महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन्। क्वार्टरफाइनल खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछन्।


सम्बन्धित समाचार