२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चलिरहेको जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशमा नेतृत्व चयन प्रक्रियाले तीव्रता पाएको छ ।
प्रदेशका १३ जिल्लामध्ये हालसम्म ९ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला सभापतिहरू निर्वाचित भइसकेका छन् । पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै रास्वपाले तल्लो तहसम्मै संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म निर्वाचित हुने जिल्ला सभापतिहरूमा काठमाडौँबाट राजा शाक्य, भक्तपुरबाट रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकबाट प्रबिन ढकाल, सिन्धुलीबाट अविनाश बस्नेत, रामेछापबाट रमेश रायमाझी, दोलखाबाट दिनेश बस्नेत, नुवाकोटबाट रामेश्वर गजुरेल, धादिङबाट राजन अर्याल र मकवानपुरबाट सन्जिव पाठक रहेका छन् ।
बागमती प्रदेशका बाँकी जिल्लाहरूमा पनि नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन सम्पन्न हुँदैछ ।
यद्यपि, सिन्धुपाल्चोक जिल्लाको अधिवेशन भने विभिन्न प्राविधिक तथा सांगठनिक कारणले गर्दा हालका लागि स्थगित गरिएको प्रवक्ता झाले जानकारी दिएका छन् । पार्टीले बाँकी रहेका जिल्लाहरूको अधिवेशन पनि छिट्टै सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

















