२४ जेठ, काठमाडौं । लोकतान्त्रिक प्रक्रियामार्फत पार्टीको तल्लो तहसम्म नेतृत्व चयन गर्ने उद्देश्यले सुरु भएको अधिवेशन अन्तर्गत प्रदेशका १४ मध्ये ८ जिल्लामा नयाँ सभापतिहरू निर्वाचित भइसकेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले दिएको जानकारी अनुसार, सुनसरीबाट सागर दाहाल, झापाबाट ओम भण्डारी, ताप्लेजुङबाट राजन कुमार गुरुङ र मोरङबाट भरत कँडेल निर्वाचित भएका छन् । त्यस्तै, तेह्रथुमबाट सुमन खत्री, भोजपुरबाट ख्यामबहादुर भुजेल, संखुवासभाबाट भक्तनारायण श्रेष्ठ र ओखलढुंगाबाट कृष्णबहादुर थापाले जिल्ला सभापतिको जिम्मेवारी प्राप्त गरेका छन् ।
कोशी प्रदेशका बाँकी जिल्लाहरूमा भने नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ । आयोगका अनुसार धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम गरी ५ जिल्लामा आज अधिवेशन भइरहेको छ ।
रास्वपाले बाँकी रहेका जिल्लाहरूको नेतृत्व पनि आजै टुंगो लगाउने गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ । छोटो समयमै सक्रियता देखाएको रास्वपाको यस आन्तरिक निर्वाचनले प्रदेशको सांगठनिक ढाँचालाई थप चलायमान बनाएको विश्लेषण गरिएको छ ।

















