२४ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा खाना पकाउने एलपी ग्यासको मूल्यमा वृद्धि भएपछि नेपालमा पनि यसको प्रत्यक्ष असर पर्ने संकेत देखिएको छ ।
भारतीय बजारमा घरेलु प्रयोगको १४।२ किलोग्रामको सिलिन्डरमा २९ भारतीय रुपैयाँले मूल्य बढाएसँगै अब नेपाली बजारमा पनि मूल्य समायोजनको दबाब सिर्जना भएको हो । यो वृद्धिसँगै नयाँदिल्लीमा अब ग्यासको मूल्य ९४२ भारतीय रुपैयाँ पुगेको छ ।
नेपालमा खाना पकाउने इन्धनको मूल्य नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने खरिद मूल्यका आधारमा निर्धारण गर्दै आएको छ । भारतमा भएको मूल्यवृद्धिको कारण आगामी दिनमा आईओसीले पठाउने नयाँ मूल्यसूचीमा समेत वृद्धि हुने सम्भावना रहेकाले नेपालमा ग्यासको लागत बढ्न सक्ने निगमका अधिकारीहरू बताउँछन् ।
यद्यपि, नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय आईओसीको मूल्यसूचीसँगै ढुवानी लागत, अमेरिकी डलरको विनिमय दर र निगमको समग्र नाफा–नोक्सानको अवस्थामा निर्भर रहनेछ ।
अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च हुँदा निगमलाई पर्ने वित्तीय भारलाई व्यवस्थापन गर्न स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले समेत घरेलु ग्यासमा अझै करिब ७०० भारतीय रुपैयाँ बराबरको ‘अन्डर रिकभरी’ (घाटा) रहेको जनाउँदै आपूर्ति सहज बनाउन विभिन्न प्रयास भइरहेको बताएको छ ।
खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यासमा निर्भर नेपाली उपभोक्ताका लागि भारतीय बजारको यो उतारचढावले आगामी दिनमा मूल्यवृद्धिको चिन्ता थपिदिएको छ ।

















