Logo

२४ जेठ, काठमाडौं । मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा परी एन्फा सिस्नेरी एकेडेमीका ६ जना किशोर खेलाडीले ज्यान गुमाएको दुःखद घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

गत असोज १२ गते इन्द्रसरोवर गाउँपालिकास्थित वात्सल्यदेवी विद्यालयमा सञ्चालित एकेडेमीमा आएको पहिरोले आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको ज्यान लिएको थियो ।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा गठित उपसमितिमा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत सदस्य रहेका छन् । उक्त समितिलाई आगामी २१ दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

घटनापछि एन्फाको व्यवस्थापकीय कमजोरीका कारण बालबालिकाहरूले ज्यान गुमाएको भन्दै मृतकका आफन्तहरूले निरन्तर आक्रोश र न्यायको माग गर्दै आएका थिए । आफन्तले खेलकुद मन्त्रालयमा दिएको उजुरीका आधारमा मन्त्रालयले राखेपलाई छानबिन गरी वास्तविकता सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

सिस्नेरी घटनाले खेलकुद क्षेत्रको सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न उठाएको छ, त्यसैले यस समितिको प्रतिवेदनलाई सरोकारवालाहरूले निकै चासोका साथ हेरेका छन् ।


सम्बन्धित समाचार