२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो आन्तरिक संगठनलाई चुस्त र व्यवस्थित बनाउने उद्देश्यले अघि बढाएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका अनुसार हालसम्म साढे चार लाखभन्दा बढी क्रियाशील सदस्यहरूले आफ्नो विवरण अद्यावधिक गरिसकेका छन् । पार्टीका प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार १४औँ महाधिवेशनमा कुल सदस्यता संख्या आठ लाखभन्दा बढी रहेको थियो ।
विगतका महाधिवेशनहरूको तथ्यांकलाई आधार मान्दा करिब ७५ प्रतिशत सदस्यता नवीकरण हुने गरेको सन्दर्भमा यसपटक पनि सोही हाराहारी वा सोभन्दा बढी संख्यामा अद्यावधिक हुने अनुमान गरिएको छ । त्रिपाठीले भने, ‘सर्सर्ती हेर्दा ६ लाखको हाराहारीमा सदस्यहरूले अद्यावधिक गर्ने देखिए पनि सम्पूर्ण आठ लाख सदस्यले नै प्रक्रियामा सहभागी हुने सम्भावना कायमै छ ।’
यसैबीच, तोकिएको समयभित्र सम्पूर्ण सदस्यहरूलाई अद्यावधिक गराउने अवसर दिनका लागि नेपाली कांग्रेसले सदस्यता अद्यावधिक गर्ने समयावधि दोस्रोपटक थप गरेको छ । पार्टीले अब जेठ २८ गतेसम्मका लागि अद्यावधिक गर्ने समयसीमा तोकेको छ ।
अद्यावधिक प्रक्रिया सकिएपछि नयाँ सदस्यहरूको थप संख्यासमेत जोडेर पार्टीको अन्तिम क्रियाशील सदस्यता सूची तयार गरिने बताइएको छ ।

















