२४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति छानबिन प्रक्रियाबाट सफाइ पाएर पुनः जिम्मेवारीमा फर्कने आशा व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टी र जनताले पुनः गृहमन्त्रीको जिम्मेवारी दिएको खण्डमा दुई महिनाभित्रै ठोस नतिजा देखिने गरी काम गर्ने अठोट व्यक्त गरे ।
आफू पुनः गृहमन्त्री नियुक्त भइहालेको खण्डमा सुरुका दुई महिना बधाई दिने, खादा लगाउने र मन्त्रालय धाउने कार्यहरू नगर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘मलाई फेरि जिम्मेवारीमा काबिल देख्नुहुन्छ भने मन्त्रालय सम्हालेको दुई महिना मलाई काम गर्ने वातावरण दिनुहोला । त्यतिबेला फोटो खिच्ने, माला र खादा लगाउने काम नगरौँ । म त्यो अवधिमा सबै संरचनाहरू स्थापित गरिदिन्छु, त्यसपछि पनि काम भएन भने मलाई प्रश्न गर्नुहोला ।’
सम्पत्ति छानबिनको विषयलाई लिएर आफ्नो धरातल नबिर्सिएको बताउँदै उनले मतदाताको विश्वास र मतको सधैँ सम्मान गर्ने प्रतिबद्धता दोहोर्याए ।
छोटो समय गृहमन्त्री रहँदा गरेका कार्यहरूको निरन्तरता र थप सुधारका लागि आफू पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो । गुरुङको यो अभिव्यक्तिले पुनः सत्तामा फर्कने उनको चाहना र कार्यसम्पादनमा केन्द्रित हुने उनको शैलीलाई स्पष्ट पारेको छ ।

















