Logo

सेबोनको आक्रामक कदमः भट्ट र अग्रवाल प्रकरणपछि थप ७ ठूला वित्तीय कसुरको अनुसन्धान सुरु

२४ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवालमाथि गरिएको प्रारम्भिक जाँचबुझपश्चात् धितोपत्र बजारसँग सम्बन्धित थप सातवटा गम्भीर कसुरहरूमाथि अनुसन्धान अघि बढाएको छ ।

बोर्डले भित्री सूचना चुहावट (इन्साइडर ट्रेडिङ), बजारको कृत्रिम उतारचढाव (मार्केट म्यानिपुलेसन) तथा सूचनाको गलत प्रवाह जस्ता विषयहरूलाई केन्द्रित गरी आफ्नो सुपरिवेक्षण कार्यलाई थप आक्रामक बनाएको हो। हाल यी अनुसन्धानहरू कुन–कुन कम्पनी वा गिरोह लक्षित छन् भन्ने विषय बोर्डले गोप्य राखेको भए तापनि, बजारका ‘ठूला माछाहरू’ लाई कानुनी दायरामा ल्याउने उद्देश्य रहेको स्रोतले जानकारी दिएको छ ।

बोर्डको यसअघिको अनुसन्धान प्रतिवेदनअनुसार, हिमालयन रिइन्स्योरेन्सका प्रमुख लगानीकर्ता भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको अवैध सेयर कारोबार गरेको खुलेको थियो ।

त्यस्तै, भट्ट र अग्रवालको समूहले नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा बढाउन एउटै आईपी एड्रेसको प्रयोग गरी बजार प्रभावित पार्नुका साथै विभिन्न बीमा कम्पनीहरूको झन्डै ४ अर्ब रुपैयाँ बराबरको कोष दुरुपयोग गरेको बोर्डको निष्कर्ष छ ।

यस गम्भीर वित्तीय अपराधको सन्दर्भमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले विस्तृत अनुसन्धान सम्पन्न गरिसकेको छ ।

प्रहरीले भट्ट र अग्रवालसहित ७५ जनाभन्दा बढी व्यक्तिहरू विरुद्ध गैरकानूनी बैंकिङ्ग कारोबार, ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।


सम्बन्धित समाचार
भर्खरै